(१) आयोगले गर्नु पर्ने काम आयोगको गठन सम्बन्धी सूचनामा तोकिए बमोजिम हुनेछ ।
(२) आयोगको गठन सम्बन्धी सूचनामा तोकिएको अवधिभित्र आयोगले जाचबुझको काम सम्पन्न गरी त्यस्तो आयोग गठन गर्ने नेपाल सरकार वा प्रदेश सरकारसमक्ष आफनो राय सहितको प्रतिवेदन पेशगर्नु पर्नेछ ।
(२क) आयोगको गठन सम्बन्धी सूचनामा तोकिएको अवधि भित्र प्रतिवेदन पेश गर्न नसकेको कारण खुलाई अवधि थप गर्नको लागि आयोगले अनुरोध गरेमा आवश्यकअवधि थप हुन सक्नेछ ।
(३) आयोगलाई देहायका कुरामा प्रचलित नेपाल कानुनबमोजिम अदालतले पाए सरहको सबै अधिकार हुनेछः–
(क) कुनै व्यक्तिलाई आयोगको समक्ष उपस्थित गराई बयान लिने,
(ख) कुनै व्यक्तिलाई कुनै लिखत पेश गर्न आदेश दिने,
(ग) प्रमाण बुझ्ने, र
(घ) कुनै सरकारी वा सार्वजनिक कार्यालय वा अदालतबाट कुनै लिखत वा त्यसको नक्कल झिकाउने ।
(४) उपदफा (३) बमोजिम कुनै व्यक्ति उपस्थित गराउन, कुनै लिखत पेश गर्न लगाउन वा कुनै प्रमाण बुझ्न आयोगले उचित सम्झे बमोजिम म्याद तोक्न सक्नेछ ।
(५) उपदफा (३) मा उल्लेख भएका अधिकारहरूका अतिरिक्त आयोगले आवश्यकता अनुसार देहायका अधिकारको पनि प्रयोग गर्न सक्नेछ
(क) जाँचुबझको विषय सम्बन्धी कुनै वस्तु वा लिखत कुनै व्यक्तिका साथमा वा कुनै खास स्थानमा छ भन्ने आयोगलाई विश्वास हुने
कारण भएमा प्रचलित नेपाल कानुनका अधीनमा रही त्यस्तो व्यक्ति वा स्थानको तलासी लिने वा कुनै राजपत्राङ्कित अधिकृतद्वारा त्यस्तो व्यक्ति वा स्थानको तलासी गर्न लगाउने र फेला परेमा त्यस्तो वस्तु वा लिखत कब्जा गर्ने वा गर्न लगाउने वा त्यस्तो लिखतको पूरै वा आंशिक नक्कल लिने वा लिन लगाउने, र
(ख) खण्ड (क) र उपदफा (३) मा उल्लेख भएको अधिकारको प्रयोगसँग सम्बन्धित प्रचलित नेपाल कानुन बमोजिमको अन्य अधिकारहरूको प्रयोग गर्ने ।